मङ्लबार, साउन २७, २०७७

सुर्खेत विमानस्थलको धावनमार्ग बढाउन सुझाव

२ जेष्ठ २०७६, बिहीबार ११:५१
436 Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलको धावनमार्गलाई थप ३०० मिटर विस्तार गर्न सुझाव दिइएको छ । एटिआर ७२ विमान अवतरण गर्नका लागि अहिलेको एक हजार २५० मिटर लम्बाइ भएको धावनमार्ग अपुग हुनेभएकोले कम्तीमा ३०० मिटर थप गर्नुपर्ने सुझाव दिइएको हो ।

सुर्खेत विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतम, बुद्ध एयरका तर्फबाट सुवर्ण खरेल, विपिन भट्टराई तथा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कँडेलगायतको टोलीवीच भएको छलफलमा विमानस्थलको उत्तरतर्फ ३०० मिटर धावन मार्ग थप गर्नुपर्ने सुझाव आएको छ । सुरुमा एक हजार मिटर भएको विमानस्थलको धावनमार्गलाई पुनः २५० मिटर थप गरेर एक हजार २५० मिटर बनाइएपछि बुद्ध एयरको एटिआर ४२ ले विगत एक बर्षदेखि दैनिक सुर्खेत काठमाडौं उडान सेवा सञ्चालन गरेको छ ।

अवको तीन बर्षभित्र धावनमार्ग विस्तार नगरे एटिआर ४२ विमान आउन रोकिने र पुनः सुर्खेत काठमाडौंको सिधा सम्पर्क विच्छेद हुने बताइएको छ । छलफलमा सहभागी सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले अहिलेको धावनमार्गमा बुद्धले मात्रै एटिआर ४२ विमान संचालन गरेर सुर्खेत र काठमाडौंवीचको सिधा हवाई सम्पर्क बनाएकोमा तीन बर्षपछि यो जहाज नआउने भएकोले सम्पर्क बिच्छेद हुने बताए । तीन बर्षपछि बुद्ध एयरले एटिआर ४२ विमान नचलाउने र एटिआर ७२ मात्रै चलाउने भएकोले सुर्खेत विमानस्थलको धावनमार्ग नपुग्ने हुँदा कम्तीमा ३०० मिटर थपेर एक हजार ५५० मिटर बनाउनुपर्ने सुझाव छलफलमा आएको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पनि अहिलेदेखि नै विमानस्थल विस्तारको पहल गर्न सुझाव दिनुभएको महासचिव कँडेलले बताए । उनका अनुसार एक हजार ५५० मिटर धावन मार्ग भए ७२ सिटे कुनैपनि कम्पनीका जहाजहरु सहजै उड्न र अवतरण गर्न सक्नेछन् ।

छलफलमा विमानस्थल उत्तरतर्फ थप ३०० मिटर विस्तार गर्न सुझाव दिएजसो सहज भने छैन । उत्तरतर्फ स्थानीयका घरजग्गा तथा एउटा माध्यमिक विद्यालय रहेको छ । दक्षिणतर्फ राजमार्ग भएको र त्यसको केही तल काँक्रेविहारको डाँडा भएकोले दक्षिणतर्फ विस्तार गर्न सम्भव छैन । उत्तरतर्फ मुआव्जा दिएर भएपनि ३०० मिटर थप गर्न सकिए सुर्खेतदेखि काठमाडौंलगायत अन्य सहरसंग दीर्घकालीन रुपमा सिधा हवाई सम्पर्क कायमै रहने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताउँछन् ।

३०० मिटर धावनमार्गका लागि करिव पाँच विगाह जग्गा अधिकरण गर्नुपर्ने र सोको मुआव्जा र अन्य संरचनाहरु निर्माण गर्दा झण्डै तीन अर्वको लगानीमा पूरा हुने उनको भनाइ छ । विमास्थलको धावनमार्ग थप गर्नका लागि उद्योग बाणिज्य संघले स्थानीय सरकारलगायत सरोकारवाला निकायहरुसंग बहस तथा छलफल अगाडि बढाउने जानकारी अध्यक्ष रावतले दिए ।

अहिले एक हजार २५० मिटर धावनमार्गमा बुद्ध एयरले मात्रै एटिआर ४२ विमान दैनिक एउटा उडान गर्दै आएको छ । जसको टिकट असाध्यै चर्को छ । महँगो भएपनि दैनिक ३० देखि ४० जनाले सुर्खेतदेखि सोझै काठमाडौंको सेवा लिएका छन् । झण्डै आठ हजारदेखि ११ हजार भाडा रहेको छ । विमानस्थलको धावनमार्ग थप गर्न सकिए ठूला जहाज आउने र भाडापनि अहिलेको तुलनामा आधा सस्तो हुनेछ ।

२०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुने गर्दछ । २०६३ सालमा उक्त विमानस्थल कालोपत्रे गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
436 Shares
Tweet
Pin
Share