• schedule मङ्लबार, साउन ७, २०७६

    आठौँ राष्ट्रिय खेलकूद : विभागीय टोलीको दबदबा

    ४ बैशाख २०७६, बुधबार ०९:५७

    Sharing is caring!

    काठमाडौँ । प्रदेश ५ मा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टोलीको दबदबा रहेको छ । मंगलबारसम्म २५४ पदकको छिनोफानो भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार अहिलेसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ कास्य पदकको छिनोफानो हुँदा विभिागीय टोलीको बर्चस्व रहेको छ ।

    प्रतियोगिताका औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी छँदा प्रतियोगितामा समावेश भएको खेल भने गत चैत २७ गतेदेखि नै खेलाउन थालिएको हो । तालिकामा त्रिभुवन आर्मी क्लब पहिलो, नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो स्थानमा छ्न । आर्मीले १८ स्वर्ण, २० रजत र १४ कास्यसहित कूल ५२ पदक प्राप्त गरेको छ । पुलिसले १३ स्वर्ण, १० रजत र ११ कास्यसहित ३४ पदक तथा एपीएफ क्लबले ११ स्वर्ण, ११ रजत र १६ कास्यसहित ३८ पदक जितेको छ ।

    तालिकाको चौथो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले ६ स्वर्ण, पाँच रजत र नौ कास्यसहित २० पदक, प्रदेश २ ले ६ स्वर्ण, तीन रजत र दुई कास्यसहित ११, प्रदेश ३ ले पाँच स्वर्ण, आठ रजत र २४ कास्यसहित ३७, प्रदेश ५ ले चार स्वर्ण, पाँच रजत र ११ कास्यसहित २०, गण्डकी प्रदेशले दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६, प्रदेश १ ले एक स्वर्ण, एक रजत र १९ कास्यसहित २१, गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले एक स्वर्ण र दुई कास्यसहित तीन तथा कर्णाली प्रदेशले दुई कास्य पदक जितेको छ ।

    यही वैशाख ११ गतेसम्म हुने उक्त प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिलासहित पाँच हजार २११ खेलाडीको सहभागिता छ । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

    प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सि, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की खेल खेलाइँदै छ ।
    प्रतियोगिता सम्पन्न गर्न रु ४३ करोड ८५ लाख ५१ हजार खर्च लाग्ने राखेपले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज रङ्गशालामा यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहबीच गर्ने कार्यक्रम छ ।

    प्रतियोगिताका १७ खेल बाँकेमा, सात खेल दाङमा, रुपन्देही र बर्दियामा चार÷चार खेल तथा ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल खेलाइनेछ । बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेट खेल हुँदैछन् ।

    त्यसैगरी दाङमा महिला फुटबल, एथलेटिक्स, कराते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेट, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङटेनिस र तेक्वान्दो, बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो र सेपाकताक्रो, ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती तथा काठमाडौँमा गल्फ खेलाइँदैछ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com