• schedule मङ्लबार, साउन ७, २०७६

    भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु ’

    ३ बैशाख २०७६, मंगलवार १६:२९

    Sharing is caring!

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आयाेजना स्थल चिप्लेमा ‘ब्रेक थ्रु’ घाेषणा गरेका छन् । प्रधानमन्त्रीले औपचारिक घाेषणा गरेकाे टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सुरुङ निर्माणमा प्रयाेग भएको हो ।

    सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

    बबई नदीको किनार हात्तीखालबाट १२ किमी २०० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा पुर्याइएकाे हाे । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमद्वारा सुरुङ खन्न थालिएको थियाे । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।

    ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए ।

    बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र बाह्रै मास ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरबको आयोजना हो ।

    भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ ।

    चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।

    १० अर्ब ५७ करोड रुपैयाँको लागतमा सुरुङ निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । इन्टेक र पावरहाउसको लागत समेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    २०७२ चैत २१ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिएको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com