schedule शुक्रबार, चैत्र ८, २०७५

मन्त्रिमण्डल पुनःगठन बारे छलफल

२८ फाल्गुन २०७५, मंगलवार १८:३९

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पारे । 

पूर्वप्रधानमन्त्री दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानूनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गरे । उनले प्रदेशको अधिकार खोस्ने कार्य सङ्घीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पारे ।

अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको विचार व्यक्त गरे । उनले सिके राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११ बुँदे सम्झौतामाथि शङ्का नगर्न सबै राजनीतिक दललाई आग्रह गरे । पार्टी अध्यक्ष दाहालले वर्तमान सरकारले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रष्ट पारे । 

प्रधानमन्त्री ओलीसँग आज बिहान पार्टी एकतालाई अन्तिम रुप दिन बालुवाटरमा छलफल भएको बताउँदै उनले आगामी एक/दुई दिनभित्र यसको टुङ्गो लाग्ने जानकारी दिए । नेकपाका दुई अध्यक्षबीचको समदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले भने, “हामीबीच कुनै विवाद छैन, समझादारीमा पार्टी अघि बढेको छ ।” पाँचाैँ साफ महिला फुटबल प्रतियोगिता उद्घाटन गर्न उनी आज यहाँ आएका थिए । 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe