schedule शुक्रबार, चैत्र ८, २०७५

उपचारका लागि तरकारी खेती

२८ फाल्गुन २०७५, मंगलवार १६:०९

सुर्खेत । गृहणी, चुल्हो चौका र घरधन्दामा प्रायः सीमित महिला । नेपाली समाजको यस्तो बुझाईलाई चिर्दै सुर्खेतकी एक गृहणीले उदाहरणीय काममात्रै गरेकी छैनन् । अरु गृहणीका लागि प्रेरणाको स्रोत समेत बनकी छिन् ।

वीरेन्द्रनगर नगरपालीका ९ की ४१ वर्षीया अनिता रासकोटीले घरगृहस्थी सञ्चालनसंग च्याउ र तरकारी खेती गरेर प्रेरणाको स्रोत बनेकी हुन । इच्छाशक्ति र लगनशीलता भएमा गृहणीले पनि बाहिर जागिर गरेर कमाउने पुरुष जस्तै कमाउन सक्छन् भन्ने उदाहरणीय पात्र हुन, उनी ।

विगत तिन वर्षदेखी च्याउ खेती र भाडाको जग्गा लिएर थरी–थरीका तरकारी उत्पादन गर्दै आएकी अनिताको आम्दानी पनि गज्जबको छ । च्याउ खेती र विभिन्न तरकारी खेती गरेर वार्षिक तिन लाख भन्दा बढी कमाउने गरेको उनले सुनाइन् । अनिताका अनुसार च्याउ खेती र विभिन्न तरकारी बिक्रीबाट पनि त्यति नै आम्दानी हुने गरेको छ ।

उनले भनिन् ‘जागीरप्रतिको मोहमा म कहिल्यै लागीन, पढेर जागीर नखाने सोचले मैले पढ्नपनि छोडेकी हुँ ।’ आफु सानैदेखी जागीर भन्दापनि व्यापार, व्यवसायमा चासो दिने गरेको उनी बताउँछिन् । उनले तरकारी खेती गरेर आफ्ना इच्छाहरु पुरा गरेकी छन् ।

तरकारी खेतीबाट आम्दानी गर्दै आएकी अनिताको दुबै मृर्गाैला फेल भएका छन् । तरपनि केही गर्न सक्छु भनेर आत्मविश्वासका साथ तरकारी खेती गरिरहेकी उनी सफल बन्दै गएकी छिन् । उनले भनिन ‘मेरा दुबै मृर्गाैला फेल भएका छन् । उपचारको लागी धेरै पैसा पनि खर्च भईसक्यो ।’ चारवर्ष देखि मृर्गौला रोगबाट पिडित उनलाई धेरैले बाँंच्दैन भन्थे । तर उनमा भएको आत्मबिश्वासका कारण अहिले सम्म व्यवसाय गर्न सफल भएकी छन् ।

उनी भन्छिन् ‘म जस्ता थुप्रै मृर्गाैलाका बिरामी छन् । कती त आत्माबिश्वासकै कमीले मृत्यृको मुखसम्म पुगेका छन् । तर मैले खानपान, सरसफाईमा बिशेष ध्यान दिने गरेकी छु ।’ अनितालाई महिनामा उपचारको लागि मात्रै कमाई भन्दा दोब्बर खर्च आउँने हुँदा पैसा कसरी जुटाउने भन्ने चिन्ताले सताउछ । उनले तरकारी खेतीको पैसा आफ्नो उपचार खर्चमै सकिने गरेको दुखेसो गर्छिन् । तरपनि उनले हार भने मानेकी छैनन् ।

उनले भनिन ‘म असक्त भएपनि महिनामा केहि पैसा कमाउन सक्ने भएकी छु । अर्को कुरा मैले अर्गानिक तरकारी र आफैँले उत्पादन गरेको चामल मात्रै खाने गरेकी छु ।’ उनले आफुमा आत्माबिश्वास बढ्दै गएको बताइन् ।

पाँच जना सदस्य रहेको अनिताका परिवारमा श्रीमान जागिरे छन्भने २ छोरा र १ छोरी पढिरहेका छन् । घर गृहस्थी सम्हाल्ने जिम्मेवारी पाएकी अनिता भने आफ्नै घर वरिपरिको बारीमा जागिरे भएकी छिन् ।

कक्षा १० सम्मको अध्ययन गरेकी उनलाई जागिरको मोह कहिले लागेन खेतीपातीमा अभ्यस्त उनलाई खेतबारीकै काम नै ठिक लाग्यो । त्यसमा पोख्त उनले भनिन–‘अब यहि काम नै मेरो लागि जागिर हो । म तरकारी खेतीबाट सन्तुष्ट छु । अरु कुनै जागिरको खाँचो छैन ।’

अनिताले तरकारी खेती गर्नका लागि कुनै किसिमको तालिम पनि लिएकी छैनन् । तर, उनले तरकारी खेती गर्ने तरिका तालिम प्राप्त कृषकले गर्नेभन्दा कम छैन । ‘अब त काम गर्दागर्दै अनुभवी भएँ’, उनले भनिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe