schedule शुक्रबार, चैत्र ८, २०७५

‘शुभयात्रा नभनेको त्यो दिन’

२७ फाल्गुन २०७५, सोमबार ०८:१७

चिप्लेढुङ्गा । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन्। 

“जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उनलाई आत्मग्लानि छ । उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको स्पष्ट गरिन् । 

राजनीतिक व्यक्तित्व भएकाले आफूलाई समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्, “एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्याैँ । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।” 

जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरैपछि आफूले सो विषयमा सोध्दा उहाँले भन्नुभएको थियो, “सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।” 

आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । “राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।”  

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe