schedule शुक्रबार, चैत्र ८, २०७५

प्रदेशका मन्त्रालयमा अख्तियारको चासो

२६ फाल्गुन २०७५, आईतवार १३:२९

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले पर्यटन वर्षको उद्घाटन कार्यक्रमसँग सम्बन्धित विभिन्न मन्त्रालयहरुलाई खर्च विवरण पेश गर्न भन्दै पत्र पठाएको छ ।

पर्यटन वर्षको उद्घाटन कार्यक्रमका लागि अख्तियारी पाएका मन्त्रालयलाई २० गतेको मितिमा खर्च विवरण पेश गर्न भन्दै कार्यालयले पत्र पठाएको हो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई पत्र पठाइएको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । पत्र प्राप्त भएको १५ दिनभित्र खर्च विवरण पेस गर्न निर्देशन गरिएको सूचना अधिकार सापकोटाले जनाए ।

यसअनुसार मन्त्रालयहरुले ढिलोमा चैत ४ गतेसम्म अख्तियारको सुर्खेतस्थित कार्यालयमा खर्च विवरण पठाईसक्नुपर्ने छ ।

अख्तियारको कार्यालयले कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको जिल्ला समन्वय समिति मुगुलाई पनि पत्र पठाएको छ । कर्णाली प्रदेशको संसद्को सार्वजनिक लेखा समितिले चार महिना लगाएर गरेको अध्ययनका क्रममा रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन कार्यक्रममा अनियमित रुपमा खर्च भएको खुलेको हो ।

पर्यटन वर्षको उद्घाटन कार्यक्रमका लागि प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाख रुपैयाँ खर्च गर्नेगरी अख्तियारी दिइएको थियो । तर, मन्त्रालयहरुले लागत अनुमान विनै सार्वजनिक खरिद ऐनविपरित करिब दोब्बर रकम खर्च गरेको लेखा समितिले ठहर गरेको छ ।

उपसमितिले गरेको अध्ययनको प्रतिवेदन र प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको खर्चको प्रतिवेदनका आधारमा सरकारले सार्वजनिक खरिद ऐन–२०६३ को आधारमा खर्च गरेको नपाइएकोले अनियमितता ठहर भएको सार्वजनिक लेखा समितिका अध्यक्ष सांसद् दीनबन्धु श्रेष्ठले बताए । उनका अनुसार कतिपय मन्त्रालयहरुले तोकिएको खर्च सीमाभन्दा झण्डै दोब्बर रकम आर्थिक नियम र प्रक्रियाविपरित खर्च गरेका छन् ।

प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घघाटन कार्यक्रममा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको सदनमा जानकारी गराएका थिए । तर, मन्त्रालयहरुले अध्ययन उपसमितिलाई बुझाएको खर्च विवरणमा ७८ लाख १४ हजार ६६८ रुपैयाँ ५६ पैँसा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पनि छुट्टाछुट्टै खर्च विवरण उल्लेख गरिएको छ । मेहालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैँसा र ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको छुट्टाछुट्टै विवरण छ । महालेखा परीक्षकको प्रतिवेदनमा ९ लाख २ हजार ८७७ रुपैयाँ फरक परेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रीले सदनमा पेश गरेको खर्च विवरण ४९ लाख ४१ हजार ७९५ रुपैयाँ नै पर्यटन वर्षको उद्घाटनमा भएको आधिकारिक खर्च मान्न सकिने समितिले निश्कर्ष निकालेको छ ।

अख्तियार अनुसन्धान आयोगको कार्यालयले पठाएको पत्र अनुसार मन्त्रालयहरुले खर्च विवरण पेश गरेमा त्यसको अध्ययन गरेर आवश्यक प्रक्रिया अगाडि बढाईने आयोगको सुर्खेतस्थित कार्यालयका प्रमुख ज्ञानराज सुवेदीले बताए ।

सञ्चारमाध्यममा आएका समाचारहरुलाई आधार बनाएर अख्तियारले चासो राखेको प्रमुख सुवेदीले बताए उनले भने ‘खर्च विवरण पेश गर्न मन्त्रालयहरुलाई चिठी पठाएका छौँ । विवरण आउनेवित्तिकै त्यसको अध्ययन गरेर छानविन गर्नुपर्ने देखिएमा प्रारम्भिक अनुसन्धान शुरु गर्छौँ ।’

प्राप्त विवरणको अध्ययनपछि अनियमितता ठहर भएमा विस्तृत अनुसन्धानमा जाने उनले जानकारी दिए । लेखा समितिको प्रतिवेदन पाएको खण्डमा अनुसन्धान प्रक्रिया अझ सहज हुने उनले बताएका छन् ।

लेखा समितिले भने हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश सभा सचिवालयमा मात्र प्रतिवेदन बुझाएको छ । लेखा समितिका अध्यक्ष सांसद् दिनबन्धु श्रेष्ठले सरकारको निर्णय कुरेको बताएका छन् । समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारले गरेको निर्णयका आधारमा अघि बढ्ने उनले बताए ।

मन्त्रालयको ७८ लाख खर्च गरेको विवरण

२०७४ चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटन बर्षको उद्घाटन कार्यक्रमका लागि विभिन्न जिम्मेवारी तोकेर पाँचवटा मन्त्रालय र जिल्ला समन्वय समिति मुगुलाई ४६ लाख रुपैयाँ खर्च गर्ने गरी स्वीकृति दिएको थियो । मन्त्रालयहरुले भने ७८ लाख १५ हजार खर्च गरेको विवरण समितिलाई बुझाएका छन् ।

कार्यक्रमका लागि भनेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ । खाद्य तथा कोसेली व्यवस्थापनका लागि १० लाख रुपैयाँ खर्च गर्ने स्वीकृति दिइएकोमा मन्त्रालयले २८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।

सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ । उक्त मन्त्रालयलाई आवास तथा सुरक्षा व्यवस्थापनको लागि ७ लाख खर्च गर्न स्वीकृति दिइएको थियो ।

सामाजिक विकास मन्त्रालयलाई प्रचार–प्रसार तथा स्वास्थ्य व्यवस्थापन जिम्मेवारीसहित ७ लाख रुपैयाँ दिइएकोमा १० लाख ११ हजार खर्च गरेको छ ।

१० लाख खर्च गर्ने स्वीकृति पाएको भौतिक पूर्वाधार मन्त्रालयले सीमाभन्दा ९३ हजार ३६० रुपैयाँ बढी खर्च गरेको छ । अतिथि सत्कार तथा यातायात व्यवस्थापनका लागि मन्त्रालयले १० लाख ९३ हजार ३६० रुपैयाँ खर्च गरेको हो ।

उद्घाटनका क्रममा भएको पर्यटन महोत्सवको व्यवस्थापन गर्न जिम्मा पाएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि अख्तियारी दिइएको भन्दा धेरै रकम खर्च गरेको छ । १० लाख खर्च गर्ने स्वीकृति पाएको मन्त्रालयले १६ लाख ५८ हजार खर्च गरेको छ ।

मुगु जिल्ला समन्वय समितिले पनि स्वीकृति पाएको भन्दा बढी रकम खर्च गरेको छ । जिससले कार्यक्रम समन्वयका लागि भनेर २ लाख रुपैयाँ खर्च गर्न दिइएको थियो । तर ७ लाख २४ हजार रुपैयाँ समन्वय समितिले खर्च गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe