schedule शुक्रबार, चैत्र ८, २०७५

दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण

२२ फाल्गुन २०७५, बुधबार ११:२८

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गरे । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख चाँदनी गुरुङले बताइन् । 

यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो । नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन् । 

सभाहल र दुई परिवार कर्मचारीका लागि तीन÷तीन कोठा पनि छन् । स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ । १८ महीनामा सम्पन्न गर्ने लक्ष्य भए पनि भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र प्रतिकूल मौसमका कारण ढिलाइ भएको निर्माण कम्पनी मृतक–सञ्जिवनीका प्रतिनिधि विनोद भट्टचनले बताए ।  

अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । उद्घाटन समारोहमा दुई रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका सुखबहादुर तिलिजा र तीन रोपनी तीन आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका चन्द्रबहादुर तिलीजाका परिवारलाई सम्मान गरिएको थियो । 

उद्घाटन समारोहमा जिसस प्रमुख केसी, गाउँपालिकका अध्यक्ष डमबहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, उपाध्यक्ष केशमाया मगरलगायतले भवनमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो । 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe