• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    भवन जिर्ण हुँदा सास्ती खेप्दै कैदीबन्दी

    १३ फाल्गुन २०७५, सोमबार १४:०९

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको जिल्ला कारागारको ४६ वर्षदेखि स्तरोन्ती हुन नसक्दा भवन जिर्ण बन्दै गएको छ । जसका कारण २०२९ सालमा स्थापना भएको ५० जना क्षमताको कारागारमा हाल २ सय ४२ जना कैदी बस्न बाध्य भएका छन् । कारागारमा पुरुषको संख्या २ सय २० रहेको छ । जसमध्ये ६९ थुनुवा र १ सय ५१ कैदी रहेका छन् ।

    त्यस्तै २० जना महिलामध्ये ३ जना थुनुवा, १७ कैदी र २ नावालक रहेका छन् । कैदीको संख्या चौगुणा बढी हुँदा पनि भवनको मर्मत सम्भारमा कसैले पहल थालेका छैनन् ।

    पुस – माघको कठ्याङ्ग्रीदो सिरेटो या जेठ-बैशाखको भतभती पोल्ने घाम, चाहे असारे झरी किन नहोस् । जस्तो सुकै कष्ट सहेर पनि बाँच्नुपर्ने अवस्था रहेको छ सुर्खेतका कैदीहरुलाई । एउटा पक्की भवन त छ तर त्यो भवनमा कैदीहरु घटाउन सक्ने अवस्था छैन । कारण ५० जनाको क्षमता भएको कारागारमा अहिले २ सय ४२ जना कैदीबन्दीहरु छन् ।

    यसरी क्षमता भन्दा चौगुना बढी कैदीहरु हुँदा टिन र त्रिपालको झुप्रोमा बस्नुनर्पे बाध्यता छ कैदीबन्दीका लागि । पानी परेको दिन त झन् सुत्नसक्ने ठाउँसम्म हुँदैन । जसले गर्दा जाग्राम बस्न बाध्य छन् कैदीहरु । शौचालयको लाइनदेखि खान र बस्नको पनि समस्या उस्तै रहेको छ ।

    बेलाबेलामा सांसद र मन्त्री पुग्ने गरेपनि मर्मतसम्भारमा कसैले चासो नदेखाएको कारागारका नाइके धिरज पराजुलीले गुनासो गरे । ‘हावाहुरी र पानी पर्दा रातभर जाग्राम बस्छौँ ।’ पराजुलीले भने ‘खाना पकाउने भाँडाकुँडा र चुल्होको अभावमा समयमा कहिल्यै खान पाउँदैनौँ, यसलाई यातना गृह नभनेर के भन्ने?’ ‘सुत्ने कोठा नहुँदा त्रिपालमुनीको बास छ ।’

    ‘राम्रोसँग सुत्न पनि पाउँदैनौ ।’ अर्का कैदी कुमार कार्की भन्छन् ‘हामीलाई सजाय भन्दा सास्ती धेरै भएको छ ।’ मुख्यमन्त्री, मन्त्री र सांसदहरु धेरै पटक कारागारमा आएको जानकारी दिँदै उनले भने ‘प्रर्याप्त मात्रामा न शौचालय, न सुत्ने कोठा ?’ कारागारमा पुरुषका लागि ४ वटा र महिलाका लागि एउटा मात्रै शौचालय छ । शौचालय प्राप्त मात्रामा नभएकै कारण लाईन बस्नुपर्ने बाध्यता रहेको कैदीहरुले दुखेसो पोखे ।

    कारागारमा महिला कैदीका लागि दुइ कोठा र पुरुषकालागि सात कोठा छन् । क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा सुत्ने ठाउँ मात्रै होइन, शौचालय, पानीको पनि समस्या हुँदै आएको छ । चार गुणा बढीहरु राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नु परेको सुर्खेत कारागारका निमित्त जेलर लालबहादुर खत्री बताउँछन् । ‘कारागारको क्षमता ५० जना मात्रै हो तर अहिले २ सय ४२ जना कैदीहरु बसेका छन् ।’ जेलर खत्रीले भने, ‘पानी पर्दा त कैदीहरु पालो गरेर सुत्छन् ।’

    कारागारको स्तरोन्नतीका लागि प्रदेश सरकारले चासो देखाएपनि भवन निर्माणका प्रक्रिया अघि बढ्न सकेको छैन । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका सबै कारागारको भवन निर्माणका लागि ३ करोड ११ लाख १२ हजारका दरले रकम छुट्याएको छ तर बजेट विनियोजन भएको सात महिना वितिसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

    यसै आर्थिक वर्षमा कारागारहरुको भवन निर्माण गरी सक्नेगर सुर्खेत, सल्यान, कालिकोट, पश्चिम रुकुम र जुम्ला कारागारको भवन निर्माणका लागि सरकारले रकम छुट्याएको जनाएको हो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares