• surkhet online bazar
  • schedule आइतवार, जेष्ठ ५, २०७६

    कर्णाली प्रदेशका विद्यालयमा भौतिक सुधार योजना

    ४ माघ २०७५, शुक्रबार १८:०१

    Sharing is caring!


    सुर्खेत । कर्णाली प्रदेशका विद्यालयहरुमा भौतिक सुधारको कार्यक्रम लागू भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयबाट प्रदेशभित्रका १० जिल्लाका विद्यालयहरुको भौतिक सुधार गर्न ३९ करोड १० लाख रुपैयाँको कार्यक्रम सुरु गर्न लागेको हो ।
    शुक्रवार निर्देशनालयले सुर्खेतका विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुको भेला गरी कार्यक्रम सम्वन्धी अभिमुखीकरणसमेत दिएको छ । विद्यालय सुधार कार्यक्रममा ६ कोठे प्रादेशिक निर्वाचन क्षेत्रगत प्रदेशस्तरीय नमूना विद्यालयको विकास गर्ने, तीन कोठे माविमा प्राविधिक तथा व्यवसायिक शिक्षाको कार्यक्रम संचालन गरिने, दुई कोठे विद्यालयको भौतिक पूर्वाधार निर्माण गरिने, विद्यालय खेलकुद मैदान बनाइने, सामुदायिक क्याम्पसहरुको पूर्वाधार विकास गरिने, स्नातक तहको प्राविधिक र व्यवसायिक शिक्षा कार्यक्रम संचालन गरिने र विशेष शिक्षा संचालित विद्यालयहरुको भौतिक मर्मत गरिनेछ ।

    प्रदेशका १० वटै जिल्लाका विभिन्न विद्यालयका लागि कम्तीमा पाँच लाखदेखि बढीमा ५० लाखसम्म बजेट विनियोजन गरिएको शिक्षा विकास निर्देशक भक्तबहादुर ढकालले बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भने दुई करोड १८ लाखको विद्यालय सुधार कार्यक्रम संचालन गरिनेछ ।
    विद्यालय सुधारको लागि यही माघ १५ गतेभित्र विद्यालयहरुले कार्यक्रमको सम्झौता गरिसक्नुपर्नेछभने पेश्कीस्वरुप पहिलो किस्ता रकमको ३० प्रतिशत प्राप्त गर्नेछन् । विद्यालयहरुले आगामी जेठ मसान्तभित्र योजना सम्पन्न गर्नुपर्ने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
    यता वीरेन्द्रनगर नगरपालिकाले भने मन्त्रालयले विद्यालय छनौट प्रक्रियावारे असन्तुष्टि जनाएको छ । नगर प्रमुख देवकुमार सुवेदीले स्थानीय तहलाई बाइपास गरेर मन्त्रालयले विद्यालयहरु छनौट गरेको भन्दै आगामी दिनमा स्थानीय तहसंग समन्वय गरेर विद्यालय छनौट गर्नुपर्ने बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares