नोबल पुरस्कार विजेता लेखक नाइपलको निधन -
  • काठमाडौं । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ। सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति अ हाउस फर मिस्टर विश्वास र अ बेन्ड इन द रिभरका लागि चर्चित छन्। ३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए।

    उनकी श्रीमतीले नाइपलले जे जे हासिल गरे त्यो बृहत् भएको बताएकी छन्। नाइपलको आफ्ना प्रियजनका माझ नै मृत्यु भएको उनकी श्रीमतीले बताएकी हुन्। नाइपलका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको बताएका छन्। सामाजिक सञ्जालहरूमा पनि नाइपलका प्रशंसकहरूले उनको निधनप्रति दुख व्यक्त गरेका छन्।

    लेखक आनन्द गिरिधरादासले आफूले नाइपलबाट धेरै कुरा सिकेको बताएका छन् भने अर्का लेखक जीत हिरले उनलाई शक्तिशाली उपन्यासकार भनेका छन्।
    हिन्दु धर्म अनुसार हुर्किएका उनले ट्रिनिडाडस्थित क्विन्स रोयल कलेजमा पढेका थिए। त्यसपछि उनी ब्रिटेन गए र त्यहाँ सन् १९५० मा सरकारी छात्रवृत्तिमार्फत् उनी अक्सफर्ड विश्वविद्यालयमा भर्ना भए। विद्यार्थी हुँदा उनलाई उदास हुने रोग डिप्रेसन भएको थियो र आत्महत्याको प्रयाससमेत गरेका थिए। बीबीसीबाट