सांस्कृतिक पक्ष ओझेल परेकामा वामपन्थीको चिन्ता -
  • काठमाडौँ, ६ साउन । कम्युनिष्ट आन्दोलनमा वर्गीय र सांस्कृतिक चिन्तन ओझेल पर्दै गएको भन्दै माक्र्सवादी चिन्तक एवं वामनेताले चिन्ता व्यक्त गरेका छन् ।

    प्रगतिशील लेखक संघको मासिक परिसंवादको सातौँ शृङ्खलामा आज “पुष्पलालको साहित्यिक चिन्तन” विषय छलफल कार्यक्रममा उनीहरुले समाजवादको लक्ष्यमा नपुगेसम्म वर्गीय चिन्तन छाड्न नहुने र त्यसपछि पनि सांस्कृतिक चिन्तनधाराले समाजलाई डो¥याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

    माक्र्सवादी चिन्तक निनु चापागाईंले कम्युनिष्ट पार्टीले सांस्कृतिक संगठन र चिन्तनलाई सुरुआतदेखि नै प्राथमिकता नदिएको टिप्पणी गरीन् । उनले प्रगतिशील लेखक कुनै पार्टीको बौद्धिक दास नभई आलोचक हुनुपर्ने बताइन् । पुष्पलालका तत्कालीन कार्यकर्ता रामबहादुर भण्डारीले माक्र्सवादको सही कार्यान्वयनमा कम्युनिष्ट चुक्न नहुने बताए ।

    वामपन्थी नेता लोकनारायण सुदेवीले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपाली अनुवाद तथा अन्य राजनीतिक विचारधारामार्फत पुष्पलालले साहित्यिक चिन्तन दिएको बताए ।

    जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले नेपालमा धेरै कम्युनिष्ट नेता भए पनि पुष्पलाललाई धेरै सम्मान गर्नुको अर्थ उनले संस्थापनाकालदेखि दिनुभएको वैचारिक योगदान महत्वपूर्ण हुनु हो भने ।

    संघका अध्यक्ष मातृका पोखरेलले प्रतगिशील लेखकबीच विचार विमर्श गर्दा राजनीतिक र सांस्कृतिक अगुवाका बारेमा पनि समीक्षा गर्दा नयाँ पुस्तालाई ज्ञान मिल्ने बताए । संघका महासचिव आरएम डंगोलले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम भाष्यकार भएको भन्दै उनको साहित्यिक कृति नभए पनि चिन्तनका दृष्टिले उच्च योगदान रहेको जनाए । रासस