बिहिबार, साउन २९, २०७७

सरकार परिवर्तनमा भारतको हात भएको प्रधानमन्त्री ओलीको आरोप

३० असार २०७३, बिहीबार १५:१५

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको प्रयासमा छिमेकी भारतको हात रहेको आरोप लगाएका छन् । उनले भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको दाबी गरेका छन् ।

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभइ ब्याट्रीबाट चलिरहेको छ । यो मुलुकका लागि निकै दुःखद हो ।’ उनले कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा छिमेकी राजदुतले उफ्रिएर खुशी भइ भोज खानुलाई सामान्य रुपमा लिन नहुने बताए । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना भएको चर्चा चलिरहेका बेला ओलीले सार्बजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रायः सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली बिहीबार भने निकै भावुक रुपमा प्रस्तुत हुँदै भने– ‘मैले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजिएको हो ।’ उनले नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरु अन्याय सहँदैनन् भन्ने पुष्टि भएको बताए । उनले भने– ‘अस्थिर खेलकुद गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्दा हुन्छ ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सुरक्षा अधिकृतहरु सहभागी थिए । तर, सभामुख, कांग्रेस, माओवादी र राप्रपा नेपालका नेताहरु कार्यक्रममा अनुपस्थित थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share