आय आर्जनको स्रोत बन्दै ढाका उद्योग -

मङ्लबार, अशोज ९, २०७५ | Tuesday 25th September 2018

  • सुर्खेत, २० जेठ । नेपालको घरेलु उत्पदनका रुपमा रहेको ढाका उद्योग सञ्चालन गरेपछि सुर्खेतका महिलाहरु ढाकाको कपडा बुन्न ब्यस्त देखिएका छन् ।
    २०५७ सालमा सुर्खेतमा रहेका बैंकले ऋण नपत्यएपछि वीरेन्द्रनगर–५ चिसापानी सुर्खेतकी मिना गैरेले गाउँका ३ जना महिलासंग मिलेर सहकारी स्थापना गरी ढाका उद्योग सञ्चालन गरेकी हुन । बैंकले ऋण नपत्याएपनि आफुले सञ्चालन गरेको ढाका उद्योगमा अहिले ३० जनाभन्दा बढी महिलालाई रोजगार दिएकी छन् ।

    ढाका उद्योग सञ्चालक मिना गैरेले कर्णाली प्रदेशमा ढाका कपडामा बजारीकण गरिने व्यवस्था हुनुपर्ने बताइन् । उनले ढाका उद्योग सञ्चालन गर्नका लागि बैंकबाट ऋण निकाल्न गाह्रो हुने बताइन् । उनले भनिन् ‘जती जोगी आएपनि कानै चिरिएको भने जस्तै कर्मचारीहरुले सहजै ऋण उपलब्ध गराउने कुरा मात्रै छाटेपनि हामीलाई ऋण दिन मान्दैनन् ।’ उनले ढाका उद्यँेग सञ्चालनका लागि ऋणको आवश्यकता परेपनि सहजै उपलब्ध हुन नसक्ने कुरा व्यक्त गरिन ।

    यस्तै ढाका उद्योगमा काम गर्ने जैसरा महत्तराले आफ्नो कामले सन्तुष्ट भएको बताएकी छन् । उनले आफ्नो खाली समयलाई सदुपयोग गरेर ढाकाको कपडा बुन्न थालेको बताइन् । ढाकाको पछ्यौरा र सारी बनाए पनि ढाकाको कपडा खरिद गर्न कमै आउने गरेको गुनासो महत्तराले गरिन् । आफुले ढाका उद्योगमा काम गरेर आफ्नो घर खर्च चलाएर आफु सक्षम भएको कुरा व्यक्त गरीन् । कर्णाली प्रदेशमा ढाकाको कपडालाई चलाउनका लागि ढाकाको कपडाको माग हुनुपर्ने बताइन् ।

    सुर्खेतका महिलाहरुको मुल आय आर्जनको स्रोत बनेको ढाका उद्योग पाँचवटा भन्दा धेरै स्थानमा चलेका छन् । आर्थिक अभावका कारण माग भए बमोजिम उत्पादन गर्न नसकिएको उनीहरुको भनाई छ ।

    ढाका उद्योगमा काम गर्न थालेपछि आफुले पैसाकालागि कसैसंग हात थाप्न नगरेको स्थानिय महिलाहरुले बताए । सुर्खेतका महिलाहरु घरधन्दा सकेर ढाकाको कपडा बुन्ने गरेका छन् ।

    तीन दिनमा बुनेको पछ्यौरा झण्डै एक हजारमा विक्री हुने गरेको उनीहरु बताउँछन् । स्थानीय महिलाहरुले बुनेको ढाकाका कपडाहरु २० हजारसम्म विक्री हुने गरेको छ । मेसिनले बुनेको ढाकाको कपडा भन्दा हातले बुनेको कपडाको गुणस्तर धेरै हुने उनीहरुको दावी छ ।