दिगो विकासका लक्ष्य हासिल गर्न युवाशक्तिकाे भूमिका महत्वपूर्ण -

बुधबार, पुस ४, २०७५ | Wednesday 19th December 2018

  • सुर्खेत, २८ फागुन । कर्णाली प्रदेशमा दिगो विकासका लक्ष्य हासिल गर्न युवाशक्तिकाे भूमिका महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

    कर्णाली प्रदेशको दिगो विकास, युवा सहभागिता, युवा नीतिका बारेमा छलफल गर्ने उद्देश्यले नेपाल युवा परिषद् कर्णाली प्रदेश कमिटीको आयोजनामा सोमबार वीरेन्द्रनगरमा भएको कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

    कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि युवाशक्तिले नयाँ सोचकासाथ जाँगरिलो भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले साधन स्रोतको धनी कर्णाली प्रदेश भएपनि ५३ प्रतिशत गरिबीको रेखामुनि रहनु दुखद भएको बताए ।

    प्रा.डा. कोइरालाले कर्णाली प्रदेशलाई विकसीत गर्नका लागि यहाँ भएका जल, जमिन, पर्यटन र जडिबुटीलाई बाहिर जान नदिएर यहीँ प्रशोधन गर्नुपर्नेमा जोड दिएका थिए । उनले दिगो विकास र भौतिक विकासका लागि युवाहरुले आफ्नै घर आँगनबाट सुरुवात गर्ने भन्दै युवाहरुले आफ्नो संस्कार नभुल्न अनुरोध गरे ।

    वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले दिगो विकासका लागि नेपाली युवाहरुले नेपालमै केही गर्न सक्छन भन्ने उद्देश्यले उदाहरणीय काम गर्नुपर्ने बताए । नगरप्रमुख सुवेदीले भोलीको प्रतिक्षा नगरेर नै आजैबाट सकरात्मक योजनाका साथ युवाहरु अघि बढ्नुपर्ने बताए । कर्णाली प्रदेशका युवाहरुले आफ्नो टोल, वडाको विकास देखि लिएर आमा समुहसम्म विकासका योजनाहरु बनाएर विकासतर्फ लाग्न जरुरी रहेको उनले बताए ।

    जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले कर्णाली प्रदेशको विकास यहाँका युवाहरुको काँधमा रहेको बताए । उनले कर्णाली प्रदेशको दिगो विकासका लागि यहाँका युवाहरुले सकरात्मक बाटो पहिल्याउँदै अघि बढ्नु पर्नेमा जोड दिए ।

    यस्तै संयुक्त राष्ट्रसंघिय आवासीय प्रमुख भ्यालरी जुनियन्टले दिगो विकासमा विश्वव्यापी अनुभवहरुका सम्वन्धमा आफ्ना भनाईहरु राखेकी थिइन । उनले नेपालमा १६ देखि ४० वर्ष सम्मका युवाहरुको जनशक्ति धेरै रहेको भन्दै नेपालमा युवाशक्तिले कार्ययोजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रमका सभापति नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले कर्णाली प्रदेशमा दिगो विकासका लक्ष्य हासिल गर्न परिवर्तित अवस्थामा युवाहरुको अहंम भुमिका हुने भएकाले व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो गाउँ, समाज र देशलाई अघि बढाउनु नै युवाहरुको प्रमुख दायित्व रहेको बताए । बानियाँले स्थानीयस्तरको स्रोत साधन, परिचालन मात्र नभई संरक्षण र खोजी गर्नु पनि युवाको दायित्व भएको बताए ।