राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिनाको उम्मेदवारी -

काठमाडौँ, २८ फागुन । सत्तारुढ नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उनले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् । प्रदेश नम्बर ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका एमाले पोलिटव्यूरो सदस्य तिमिल्सिनालाई राष्ट्रिय सभाका अध्यक्षमा उम्मेदवार बनाउन एमालेका सांसद खिमलाल भट्टराई प्रस्तावक रहेका छन् भने माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा र एमालेका सांसद सुमनराज प्याकुरेल समर्थक रहेका छन् ।

बुधबार अपरान्ह १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने संघीय संसद सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । तिमिल्सिनाको मात्रै उम्मेदवारी परेकाले निर्वाचनमा मत विभाजन गरिरहन नपर्ने कानुनी व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ । बामगठबन्धनको तर्फबाट राष्ट्रिय सभाको अध्यक्षमा तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दिएका तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्ष, सत्तापक्ष सबैको साझा र मर्यादित थलोको रुपमा स्थापित गराउन कुशल नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरे । उनले ऐन, कानुन निर्माणको काममा केन्द्रित हुने योजना पनि सुनाए ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार आगामी बुधबार अपरान्ह १ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । निर्वाचनमा ३ जना सांसदहरुले भने मतदान गर्न पाउने छैनन् । मतदाता नामावली सार्वजनिक भईसकेपछि सपथ लिनु भएका राष्ट्रिय सभाका मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले मतदान गर्न नपाउने कानुनी व्यवस्था रहेको पनि संसद सचिवालयले स्पष्ट पारेको छ । ५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यक्षको निर्वाचनमा ५६ जनाले मात्रै मतदान गर्नेछन ।