कर्णाली प्रदेशस्तरीय टि २० क्रिकेटको उपाधि सुर्खेतलाई -

सुर्खेत, २६ फागुन । सुर्खेत क्रिकेट संघद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय टि २० क्रिकेटको उपाधि सुर्खेतले जित्न सफल भएको छ । आफ्नो अपराजित यात्रा कायम राख्दै सुर्खेतले शनिवार सम्पन्न फाइनलमा रुकुमलाई ३ विकेटले पराजित गरी उपाधि जित्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओवरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । रुकुमका लागि दिनेश पुनले ५७ रनको अर्धशतक पुरा गर्दा महेश बिष्टले १८ रन बनाएका थिए ।

११३ रनको लक्ष्य पक्ष्याएर उच्च मनोबलका साथ मैदानमा उत्रिएकोको सुर्खेतले १८.६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । सुर्खेतका निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको योगदान दिदै खेल आफ्नो पक्षमा पार्न सफल भएका थिए । रुकुमका युवराज केसीले ३ र बालाराम बुढाले २ विकेट लिन सफल भए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ म्याच घोषित भए । कर्णाली प्रदेशको क्रिकेट टोली छनोटका लागि गरिएको लिग प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । सुर्खेतसहित दैलेख, जाजरकोट, रुकुम, सल्यान र जुम्लाले सहभागिता जनाएका थिए ।