४२ अर्गानिक कृषिजन्य बस्तुहरुकाे विक्रीवितरण -

मङ्लबार, अशोज ९, २०७५ | Tuesday 25th September 2018

  • सुर्खेत, २६ फागुन । गुल्मी जिल्लामा केन्द्रीय कार्यालय रहेको पैंचो पसल प्रा.लि.ले उत्पादन गरेका ४२ भन्दा बढी अर्गानिक कृषिजन्य बस्तुहरु सुर्खेतबाट विक्रीवितरण सुरु गरेको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले एक कार्यक्रमका वीच पैंचो पसलको शनिबार उद्घाटन गरेकी छन् ।

    मन्त्री केसीले कर्णाली प्रदेशका नागरिकको आयु सवैभन्दा कम, बढी कुपोषणजस्ता समस्याहरु बढ्दै गएकोले अर्गानिक खानेकुरामा बृद्धि गराउन प्रदेश सरकारले भारतीय तरकारी आयातमा रोक लगाइ अर्गानिक प्रदेश बनाउने निर्णय गरेको बताइन् । उनले कृषिबाट मात्रै प्रदेश समृद्धि सम्भव भएकोले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको आवश्यकता देखिएको उल्लेख गरिन् ।

    पैंचो पसल प्रालिका प्रवन्ध निर्देशक धु्रवराज न्यौपानेले ग्रामीण क्षेत्रका किसानहरुले आफ्नो बारीमा उत्पादन गरेका अर्गानिक बस्तुहरु आफूहरुले किनेर उनीहरुलाई अत्यावश्यकीय बस्तु पैंचोका रुपमा बिनिमय गर्न पसलले सघाएको बताए ।

    प्रालिले आटो, पिटो, मस्यौरा, गुन्द्रुक, अचार, सस, जुसलगायत ४२ वटा अर्गानिक उत्पादन गरेको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । निर्वाहमुखी खेती गरिरहेका कृषकहरुलाई व्यवसायी खेती गर्त उत्प्रेरित गर्ने उनीहरुले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण गर्न आफूहरु कर्णाली प्रदेशमा आएको उनले जनाए ।